गुल्मी अस्पतालमा पहिलोपटक विद्युतीय चिकित्सा अभिलेख (इएमआर) प्रणाली सुरु

गुल्मीः लुम्बिनी प्रदेशमै पहिलोपटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (इएमआर) प्रणाली सुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनले लुम्बिनी प्रदेशमै पहिलोपटक र देशभरमा नवौँ अस्पतालको रूपमा गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (इएमआर)  प्रणाली सुरु भएको हो ।

इएमआर प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ।

टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधि लगायत विवरण इएमआर प्रणाली मार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पु¥याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गरे।

विद्युतीय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा सञ्चालन भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताए। उनले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनमा जिपिएस जडान गर्ने, शुल्कसहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको नाम देखिनेगरी राख्नेलगायत काम सुरु गरेको बताए।

विश्व स्वास्थ्य सङ्गठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमार्फत बिरामीको समय, खर्चको बचत हुनुका साथै परीक्षणमा हुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने बताए।

यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने उनको भनाइ छ। यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो।

पचास शय्या रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्यूठान, बागलुङलगायत जिल्लाका नागरिकले सेवा लिँदै आइरहेका छन्।