काठमाण्डौः महिलामा धेरै संख्यामा हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम सुरु भएको छ। सरकारले निःशुल्क रूपमा परीक्षण गर्ने यो कार्यक्रम देशव्यापी अभियानको रूपमा भइरहेको परिवार कल्याण महाशाखा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखाले जनाएको छ।
फागुन १ गतेदेखि देशका ७५३ वटै स्थानीय तहबाटै यो नसर्ने रोगको परीक्षण गरिरहेको छ। त्यही परीक्षण कार्यक्रममा महिलामा बढी हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण भइरहेको जनाएको छ।
पाठेघरको मुुखमा क्यान्सर सुरु हुन लागेको या सुरु भइसकेको अवस्थामा पहिचान गरी समयमै थप उपचार गर्ने उद्देश्यले नसर्ने रोग परीक्षण अभियानअन्तर्गत पाठघेरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम समावेश गरेको परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखाकी वरिष्ठ सामुदायिक नर्सिङ अधिकृत अमृता पहाडीले बताइन्।
पाठेघरको मुखको क्यान्सर परीक्षणअन्तर्गत भिआइए (भजाइनल इन्सपेक्स विथ एसिटिक एसिड) परीक्षण विधिबाट हुन्छ। यो विधिअन्तर्गत पाठेघरको मुखमा विशेष उपकरणबाट पाठेघरको मुखमा विशेष रसायन राखिन्छ।
रसायन राखेर हेरेपछि आउने परिवर्तन या दागको आधारमा पाठेघरको मुखको क्यान्सरको पहिचान र सम्भावित जोखिमको पहिचान गरिन्छ। यो पहिचानपछि सामान्य अवस्थामा तत्कालै स्थानीय स्तरमै उपचारको समेत व्यवस्था गरिएको छ। स्थानीय तहमा उपचार गर्न सम्भव नभएमा रेफर गर्ने व्यवस्था गरिएको छ। यो परीक्षणका लागि आवश्यक जनशक्तिलाई तालिम दिइसकेको शाखाले जनाएको छ।
कार्यक्रम सुरु भएदेखि यता देशभरबाट परीक्षणको रिपोर्ट संकलन भइरहेको र हुने क्रममा रहेको प्रजनन शाखाले जनाएको छ। यो अवधिमा करिब ८० हजार जना महिलाको परीक्षण भइसकेको छ। सरकारले पाठेघरको मुखको परीक्षण स्थानीय स्वास्थ्य केन्द्रबाट गत वर्षदेखि नै सुरु गरेको भए पनि यो वर्ष थप जनचेतना जगाउने उद्देश्यले नसर्ने रोग परीक्षण अभियानमै समावेश गरेको शाखाले जनाएको छ।


















